प्राकृतिक जीवाणु मलको माग बढ्यो
झापा | साउन ३, २०८१
झापा: बिर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ ।
यहाँबाट उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नाका साथै माटोको उर्वरा शक्तिलाई बढाउने हुँदा यसको माग बढेको प्रालिका अध्यक्ष प्रदीप घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार कारखानाबाट पातमल, जरामल, धुलोमल र माछामल उत्पादन भइरहेको छ । यहाँ उत्पादित मल झापा, इलाम, सुनसरी र मोरङमा प्रयोग हुँदै आएको छ । दुई वर्षअघि करिब एक बिगाहा जमिन भाडामा लिएर रु ६० लाखको लागतमा सुरु गरिएको कारखानामा हाल रु तीन करोड बढी लगानी भइसकेको छ ।
स्थानीय व्यक्तिको सहयोगमा सञ्चालन गरिएको कारखानाबाट उत्पादन हुने पातमल, जरामल, धुलोमलको प्रयोगले बोटबिरुवालाई छिटो बढ्न, राम्रो उत्पादन दिन र बाली संरक्षक प्राङ्गारिक जीवाणुको रक्षा गर्ने उहाँले बताउनुभयो । माछामलले पोखरीमा माछाका लागि प्राकृतिक खाद्य पदार्थ बढाउन मद्दत गर्दै आएको छ ।
जीवाणु प्रविधिमा आधारित यी मलको माग दिनानुदिन बढिरहेको जनाउँदै कारखानाका सञ्चालक घिमिरेले माटोमा पहिले प्रयोग भएको रासायनिक मलको नकारात्मक असर हटाउन, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न र रोग कीराको प्रकोप नियन्त्रण गर्नसमेत यसले सहयोग पुर्याउने बताउनुभयो ।
महिनामा एक हजार मेट्रिक टन मल उत्पादन गर्न सक्ने क्षमताको कारखानाबाट विगत छ महिनादेखि व्यावसायिक उत्पादन सुरु भएको छ । कारखानाबाट एकपटकमा सय टन धुलो मल र महिनामा ६० देखि ७० हजार लिटर झोल मल उत्पादन हुँदै आएको छ । स्थानीयस्तरमा पाइने, झारपात, काठको धुलो, पिना, गाईको गोबर, गहुँतलगायतको कच्चापदार्थ यो मल बनाउन प्रयोग हुने गरेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । हाई हिमालयनले कम्पोस्ट मल प्रतिकिलो रु ४० र झोलमल प्रतिलिटर रु ४० का दरले बिक्री गर्दै आएको छ ।
सरकारले जैविक मल उत्पादक उद्योगी र प्रयोगकर्ता किसानलाई प्रोत्साहन अनुदान दिँदै आएको छ । उहाँले जैविक मल उत्पादन गर्ने तरिका अध्ययनका लागि थाइल्यान्ड, फिलिपिन्स, डेनमार्क, बेल्जियमलगायत देशको भ्रमण गरिसकेको बताउनुभयो । “त्यहाँको अनुभव र प्रविधिलाई समेत हामीले यहाँ प्रयोगमा ल्याइरहेका छौँ”, उहाँले भन्नुभयो ।
उहाँले सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिने गरेको तर प्राकृतिक जैविक मललाई बेवास्ता गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले सरकारले बेवास्ता गरे पनि किसानको मागलाई धान्नका लागि निकट भविष्यमै मेचीनगर, अर्जुनधारा, शिवसताक्षी नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा समेत उद्योग सञ्चालनको तयारी रहेको बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जिल्लामा एक मात्र हाई हिमालयन अर्गानिक प्रालि मात्र जीवाणु मलको कारखाना रहेको बताउनुभयो । उहाँले विगतमा कारखाना स्थापनाका लागि सरकारले रु ४० लाख अनुदान समेत प्रदान गरेको जानकारी दिनुभयो ।
“प्राङ्गारिक मलको तुलनामा जीवाणु मल धेरै उत्तम र सस्तो हो”, उहाँले भन्नुभयो, “यो मल पटकपटक प्रयोग गरिरहनुपर्दैन, यसले मोटोको गुणस्तर सुधार गर्ने र निरोगी बनाउने, लागत खर्च समेत घटाउँदै लैजाने गुण हुन्छ ।” उहाँका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट नेपालको औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्याएकामा घिमिरले हालै रु दुई लाख नगद पुरस्कारसमेत पाउनुभएको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

